काठमाडौं– यतिबेला दशैँ तिहार जस्ता चाडपर्वले छोप्नै लागेको छ । तर चाडपर्व नजिकिरहेको बेलामा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भने बढिरहेको छ । मुलुकभित्र रोजगार सिर्जना हुन नसक्दा युवाहरु चाडपर्वको समयमा पनि विदेश जान बाध्य भएका छन् ।
यस वर्षको भदौमा मात्र ५७ हजार भन्दा बढी नेपालीहरु नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्र ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् ।
विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । यस्तै साउन महिनामा ६० हजार विदेशिएका थिए ।
भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् ।
भदौ महिनामा सबैभन्दा धेरै रोजगारीको लागि युएइ गएका छन् । १८ हजार ६०५ नेपाली युएई गएको तथ्यांकले देखाएको छ । त्यस्तै साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । यस्तै मलेशियामा भदौमा १ हजार १९३ श्रमिक गएका छन् ।
भदौमा युरोप राष्ट्र रोमनियामा एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ ।
त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।
प्रतिक्रिया