चितवन– चितवनको भरतपुर महानगरपालिकाले खोला मिचेर बनाइएका अतिक्रमितसंरचनामा डोजर चलाउन सुरु गरेको छ ।
भरतपुरको नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा पुगेकी थिइन् ।
१८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै थिएन । क्लबसँग तीन धुर जग्गा मात्र भएको लालपूर्जा थियो ।
महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गर्दा क्लबले जग्गा अतिक्रमण गरेको पाएको थियो । सोपछि जग्गा खाली गर्न अनुरोध गर्दै गत साउत १२ गते सूचना जारी गरेको थियो । तर अतिक्रमित भवन हटाइएन ।
त्यसपछि निर्देशक समितिको गत भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो ।
पहिला कञ्चन पानी बग्ने पुङ्गी खोला शहर बढेसँगै अहिले सानो ढलजस्तो देखिने गरेको छ । मेयर रेनु दाहालले पुङ्गी खोलाको अतिक्रमित स्थानलाई खाली गरेर खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण र सौन्दर्यकरण अभियान एक साथ सुरु गरेकी छन् । पुङ्गी खोला सिमाङ्कन, संरक्षण र सौन्दर्यकरणको पहिलो चरण अन्तर्गत दुवैतर्फ ३५५÷३५५ मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गर्ने महानगरले योजना बनाएको छ ।
यसका लागि वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, रेलिङ्गसहित मोर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । त्यसका लागि पहिलो चरणमा सघन तथा भवन निर्माण आयोजना चितवनबाट ६ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया