आफूविरुद्ध कान्तिपुरले भ्रमपूर्ण समाचार छापेको भन्दै जङ्गीए रवि, ‘अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन’


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कान्तिपुर दैनिकले आफुविरुद्ध भ्रम पूर्ण समाचार लेखेको भन्दै त्यसको खण्डन गरेका छन् । कान्तिपुरले बुधबार ‘प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’ शीर्षकमा लेखेको समाचार भ्रमपूर्ण भएको भन्दै खण्डन गरेका छन् ।

समाचारमा कान्तिपुरले गोरखा मिडियाका पूर्व सञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीले प्रहरीलाई दिएको बयान उल्लेख गरेको छ । समाचारमा प्रहरीको बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका जनाइएको छ ।

‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ । जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’ जोशीको भनाई उदृत गर्दै एक प्रहरीले बताएको कुरा समाचारमा लेखिएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको समाचारमा उल्लेख छ ।

सहकारी ठगी प्रकरणको लागि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले असोज ६ मा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यही दिन प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको थियो । लगत्तै उनलाई जहाजमा कास्की पुर्‍याइएको थियो । त्यहाँ उनलाई पाँच दिनको लागि हिरासतमा राख्ने अनुमति लिएको छ । सहकारी रकम अपचलनको विषयमा हिरासतमा रहेका छविलालसँग मंगलबार साँझ प्रहरीले बयान लिएको थियो ।

सो बयान मंगलबार नै कान्तिपुरले थाहा पाएर आज छाप्न भ्याइसकेको भन्दै रविले आश्चर्य जनाएका छन् । उनले समाचारको खण्डन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।’

मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज क्वेसन आउट गरेछ। सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। यसअघि सार्वजनिक स्थानमा रविमाथी खोया प्रहार भएको विषयमा समाचार देखेर कान्तिपुरले माफी मागेको उनले सम्झिए । उनले सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

कान्तिपुर पत्रीकाको मुख्य पृष्ठदेखि अन्तिमसम्म आफ्ना नकारात्मक समाचार लेखिने गरेको बताउँदै उनले लेखेका छन्, ‘यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ। न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।’

आफुविरुद्ध अफवाह फैलाउने कान्तिपुरको काम भएको भन्दै उनले सरकारको जवाफ मागेका छन् । उनले सरकारलाई कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो भन्दै प्रश्नसमेत गरेका छन् । सभापति लामिछानेले लेखेका छन्, ‘तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्। समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ। म कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा लाइभ गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचार विरुद्ध म लड्छु।’

यदि यसो नगर्ने हो भने कान्तिपुरमा प्रकाशित समाचारको सरकारले तुरुन्तै खण्डन गर्नुपर्ने उनले माग राखेका छन् । उनले भनेका छन्, ‘भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।’