पर्वत– धेरै कमाउने र राम्रो जीवनशैली जिउने अभिलाषाले मानिसहरु गाउँबाट शहर पसिरहेका छन् । परिणामस्वरुप गाउँ रित्तो बनेको छ । पर्वतको महाशिला गाउँपालिकामा पनि गाउँ छाडेर जानेहरुको सङख्या निरन्तर बढिरहेको छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार महाशिला गाउँपालिकामा ८ हजार ११६ जना जनसंख्या छ । तर गाउँपालिकाबाट एक वर्ष यतामात्रै महाशिलाबाट ९३ परिवारका ३२५ जना बसाइँ सरेर अन्यन्त्र गएका छन् ।
जसकारण गाउँमा रहेका खेतियोग्य जमिनसमेत बाँझो बनेको छ । यस समस्या समाधानका लागि महाशिला गाउँपालिकाले पालिकामा जमिन बाँझो छाडेर बाहिर गएकालाई पुन पालिकामा फर्किन प्रोत्साहन गर्ने कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षबाट कार्यक्रम सुरु गरेको हो ।
यसका लागि गत आर्थिक वर्षबाट पालिकामा फर्किएर बाँझो जमिनमा फेरी खेति सुरु गरेमा अनुदान र खाद्यान्न रकम दिएर सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । बाँझो जमिनमा खेतिपाति गर्दा पहिलो ६ महिना उत्पादन गर्न गाह्रो हुन्छ । यस्तो समयमा ६ महिनाको लागि खाद्यान्नसमेत गाउँपालिकाले उपलब्ध गराउने उनले बताए । उनका अनुसार चामल, दाल, तेल, तरकारीलगायतका खाद्यान्न किनेर परिवारको भरणपोषण गर्न प्रतिमहिना १० हजारको दरले खाद्यान्न रकम उपलब्ध गराइन्छ । यस्तै गाउँ फर्किएकालाई सुरुमा खेति गर्नेका लागि एक लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराउन लागेको उनले बताए ।
अनुदान तथा खाद्यान्न सहयोगका लागि भने पहिले पालिकामा बसाइँसराइ दर्ता गर्नुपर्ने हुन्छ । यो कार्यक्रम सुरु गरेयता गाउँपालिकामा १५ घरपरिवार बसाई सरेर गएका छन् । तीमध्ये सात जनाले अनुदान र खाद्यान्नका लागि निवेदन दिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया