Logo

जापानमा वषौँ यताकै सबैभन्दा ठुलो चामल अभाव

एजेन्सी-  जापानको परम्परागत परिकार बनाउन प्रयोग हुने मुख्य खाद्य वस्तु हो चामल। सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले उच्च चामल अभावको सामना गरिरहेको छ ।

जापानमा पछिल्लो समय खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएको छ । यसै समयमा पर्यटकको आगमन बढेका कारण जापानी खानेकुराको माग उच्च छ । त्यसैले जापनामा पछिल्लो महिनामा चामल अभाव झनै चर्किएको छ । यस वर्षको गर्मीयामभरि जापानमा सुपरमार्केटमा चामलको बोरासमेत खासै धेरै देख्न पाइएको थिएन ।

पछिल्लो तीन वर्षयता जापानमा चामलको उत्पादन भन्दा माग धेरै छ । यसले गर्दा चामलको सञ्चिति २० वर्षकै न्यून स्तरमा झरेको अमेरिकी कृषि मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको थियो । जापानमा ताइफुको सिजन नजिकिँदै गएको छ । जापानी सरकारले ठुलै भूकम्प जाने चेतावनीसमेत दिएको छ । त्यसैले त्यहाँका उपभोक्ताहरूले पनि जगेडा चामल थुपारेर राख्न थालेका छन् ।

अगस्टमा चामलको अभाव भएपछि जापानी सुपर मार्केटहरूले एक जनाले एक झोला चामल मात्रै किन्न पाउने नियम ल्याएका थिए । पर्यटकहरूको आगमन बढेसँगै चामलको प्रयोग गरेर बनाइने सुशीलगायत परिकारको माग बढ्दा आंशिक रूपमा चामलको अभाव भएको अमेरिकी सञ्चारमाध्यम सिएबिसीले जनाएको छ ।

अगस्टमा जापानमा प्रति ६० केजी चामलको भाउ १६ हजार १३३ येनमा पुगेको थियो । यो अघिल्लो महीनाको तुलनामा ३ प्रतिशत धेरै हो भने यस वर्षको सुरुयता ५ प्रतिशत धेरै हो ।

 

 

प्रतिक्रिया दिनुहोस्