घरायसी विवादमा गोली प्रहार गरी श्रीमतीको हत्या, बुबा घाइते
सर्लाही– सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति गोली प्रहारबाट एकजनाको हत्या भएको छ । गएराति पौने दुई बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको गोली हानी हत्या भएको हो ।
चित्रकलाको श्रीमानले साथीसँग मोटरबाइकमा आएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीबाट केहि समयअघि मात्र घर आएका चित्रलेखाका श्रीमान्ले गएराति घ श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न युवकको बुवा ५४ वर्षका रामदिनेश यादव पनि गोली प्रहारबाट घाइते बनाएका छन् ।
गोली प्रहारमा संलग्न युवक एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । घर आएदेखि परिवारका सदस्यहरुसँग उनको बेलाबेलामा झगडा भइरहन्थ्यो । कुवेतबाट घर फर्केको ३÷४ दिनपछि नै उनी घर छाडेर हिँडेका थिए ।
करिब २५ दिनपछि बुधबार राति उनी घरमा पुगेका थिए । एकजना साथीसँग मोटरसाइकलमा घर गएको र गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । तर गोली प्रहरा गर्ने चित्रकलाकै श्रीमान हुन् या होइनन् भन्ने विषयमा भने प्रहरीले यकिन गरिसकेको छैन ।
तर प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ । घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली बिहीबार बिहान घटनास्थल पुगेको थियो ।
घटनामा प्रयोग भएको हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल हरिपूर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।