काठमाडौं– दुर्गाा प्रसाई पक्राउ भएपछि उनको पक्राउको विरोधमा झापामा ट्रकहरुमा आगजनी गर्ने थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक जलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीरबहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु छन् ।
रुद्र भुजेल प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् । विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीरबहादुर गुरुङ अभियाको सल्लाहकार हुन् ।
सिलीगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरुले पेट्रोल बम प्रहार गरेका थिए। पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।
यसअघि दुई जनालाई पक्राउ गरेर आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया