Logo

रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

काठमाडौं– लागु औषधको कारोबार गरेको कसुरमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो ।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको थियो । ७ असोजमा जिल्ला अदालत कास्कीमा ढाकाकुमारसहित ४ जनालाई प्रतिवादी बनाएर लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । गत ८ असोजमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा अदालतले बुधबार प्रतिवादीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।

यसअघि ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निस्कासन गरेको थियो। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेको र आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्