Logo

शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरको छोरीलाई डेब्यु गराउन सहकारीको करोडौं रकम अपचलन

काठमाडौं– फिल्मी क्षेत्रमा पनि सहकारीको ठूलो रकम फसेको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकमबाट फिल्म बनाएको पाइएको हो ।

काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरी र नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा लाई म्युजिक भिडियो र सिनेमामा समेत डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको छ ।

२०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको दर्शन सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । हालसम्म उक्त सहकारीको अध्यक्ष दर्शनधारी नै छन् । संसदीय छानविन समितिको प्रतिवेदनमा उक्त सहकारीको जम्मा कर्जा एक अर्ब ४५ करोड रहेको छ । कुल निक्षेपको १० प्रतिशत तरलता राख्नुपर्नेमा सोको उल्लंघन गरी १‍‍.८३ प्रतिशत मात्रै तरलता राखेको भेटिएको उल्लेख छ ।

प्रतिवेदनअनुसार दर्शनधारीले सहकारीको रकम  खर्चिएर ‘एउटा यस्तो प्रेम कहानी’ फिल्म निर्माण गरेको थियो ।  २०७७ सालको माघे संक्रान्तिमा उक्त फिल्म रिलिज भएको थियो । यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति र करिश्माकी छोरी कविताले डेब्यु गरेका थिए ।

दीपेश सापकोटा निर्देशित फिल्ममा शक्ति र कवितासँगै शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सम्यक दर्शनधारी, आङतेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ लगायतले अभिनय गरेका थिए ।

कोरोना महामारीले नौ महिनासम्म हल बन्द भएपछि खुलेको पहिलो दिनमै यो फिल्म हलमा रिलिज भएको थियो । तर फिल्म बक्स अफिसमा यो फिल्म सुपर फ्लप भएको थियो । उक्त फिल्ममा ५ करोड रुपैँया बराबरको लागतमा बनाइएको भएपनि केही लाख रुपैयाँमात्र कमाउन सफल भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्