कम भिजिबिलिटीका कारण पाँच फन्को लगाएर कतार एयरवेजको जहाज अवतरण


काठमाडौं– कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण पाँच फन्को लगाएर उक्त विमान अवतरण गरेको हो ।

जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । त्रिभुवन विमानस्थलका अन्य उडानहरु भने नियमित भइरहेका छन् ।

यस्तै ठुलो वर्षाले गर्दा कम भिजिविलिटीका कारण केहि आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।