Logo

इयरबड कानमा पड्किँदा सँधैका लागि गुम्यो श्रवणशक्ति

एजेन्सी- टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई कानमै पड्किँदा प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको दाबी गरेका छन् । सामसङको कम्युनिटी फोरममा पोस्ट राख्दै ती व्यक्तिले इयरबड्स पड्किँदा यस्तो घटना निम्तिएको बताएका हुन् ।

टर्किश सञ्चारमाध्यम वेबटेन्को डटकमका अनुसार ती व्यक्तिले हालै मात्र प्रेमिकाका लागि उक्त इयरबड्स खरिद गरेका थिए । सो इयरबड्सलाई प्रेमिकाले ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोनमा पेयर गरेकी थिइन् । बक्सबाट निकालेपछि उक्त इयरबड्स चार्जमा लगाइएको थिएन । यद्यपि त्यसमा ३६ प्रतिशत चार्ज थियो ।

नयाँ इयरबड्स प्रेमिकाले कानमा लगाउने बित्तिकै पड्किएको ती व्यक्तिको दाबी छ ।जसकारण उनको श्रवणशक्ति सधैंका लागि गुमेको छ । उनले उक्त एयरबड टर्कीको अडाना सहरको एक सामसङ सर्भिस सेन्टरबाट खरिद गरेका थिए ।

जहाँ उनले पहिलो पटक इयरबड्स खरिद गर्दा बिग्रिएको परेको थियो । त्यसपछि उनले उक्त एयरबड साँटेर उक्त इयरबड किनेका थिए । जुन प्रेमिकाले प्रयोग गर्ने बित्तिकै पड्किएको थियो । सो घटनालगत्तै प्रयोगकर्ताले सहायताका लागि सामसङलाई सम्पर्क गरेका थिए ।

सामसङले घटनाको बारेमा विस्तृत जानकारी माग्नुका साथै इयरबड्स साटिदिने जनाएको थियो । यसले गर्दा आफू थप असन्तुष्ट भएको उनको भनाइ छ ।
उक्त इयरबड्सबारे अनुसन्धान गरिरहेको र हालसम्म पड्किनुको वास्तविक कारण फेला नपरेको भन्दै सामसङले विज्ञप्ती निकालेको जनाइएको छ ।

इयरबड्समा स्मार्टफोनमा जस्तै लिथियम आयन ब्याट्री प्रयोग भएको हुन्छ । यसमा ३५ एमएएचदेखि ५० एमएएचसम्मको ब्याट्री प्रयोग गरिन्छ । इयरबड्स पड्किनुको खास कारण बाहिरिएको छैन । तर इयरबड्स प्रयोग गर्नुअघि त्यसलाई राम्रोसँग जाँच गर्न सुझाव दिइएको छ । विशेषगरी इयरबडस तात्तिएको छ वा छैन, पानी परेको छ कि छैन भन्ने विषय राम्रोसँग जाँच्नुपर्ने हुन्छ ।

सो घटनापछि ब्लुटुथ इयरबड्स प्रयोगकर्तामा गम्भीर किसिमको चिन्ता निम्ताएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले कम्पनीलाई आफ्ना प्रडक्टको सुरक्षालाई गम्भीरतापूर्वक लिनसमेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्