Logo

भारतमा कमाएर घर फर्कँदै थिए, भीरबाट खसेर महाकालीमा बेपत्ता

काठमाडौं– कमाउन भारत गएका एक युवक घर फर्किंने क्रममा भीरको बाटोबाट चिप्लिएर लड्दा महाकाली नदीमा बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भीरबाट खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् ।

उनी एक महिना अघिमात्र कमाउनको लागि भारतको पिथौरागढ गएका थिए । उनी शुक्रबार एक महिनापछि घर फर्कन लागेका थिए । सोहि क्रममा शुक्रबार बिहान ११ बजे दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकै भिरालो बाटो हिँडिरहँदा चिप्लिएर भीरमा खसेका थिए ।

झुलाघाटको पुल तरेर वारि गाडी लाग्ने ठाउँ छ। त्यहाँ पुगेर अमरले आफूले ल्याएको सामान जिपमा हालेका थिए। उनी आफू भने जिपमा सामान हालेर जीप चढ्ने तयारीमा थिए ।

उनी सडकको छेउमा रहेको समयमा एक्कासी लडेर तल खसेका थिए । १५ मिनेटसम्म उनी झारपातमा अडिएर उद्धारको पर्खाइमा थिए। स्थानीयले उनलाई माथि ल्याउने कोसिस गर्दा उनी महाकालीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनी महाकालीमा खसेर हाल बेपत्ता छन् । उनको महाकाली नदीमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै खोजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ।

लगातारको वर्षाले महाकालीको बहाव बढ्नुका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्