Logo

समिक्षा अधिकारीको दशैँ लक्षित गीतमा हिन्दु देवीलाई पुजिने श्लोक गाएर आइटम डान्स, विवादमा आउने रहर

काठमाडौं– ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।’ यो संस्कृतका श्लोकहरु तपाईँहरुले सुन्नु नै भएको होला । दशैँमा बिजयदशमीको दिन ठुलाबडाले छोरी, बुहारी (विशेषगरी महिलालाई) आर्शीवाद दिँदा यहि श्लोक भनेर आर्शीवाद दिने गरिन्छ । जसको अर्थ हुन्छ, दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् ।

हो, यहि श्लोक राखिएको छ चर्चित गायिका समिक्षा अधिकारीको करिब ११ दिन अघि सार्वजनिक गीत ‘चन्द्रकुमारी’ मा । तर यो गीतमा श्लोक राखिएजस्तै भिडियोमा केही पौराणीक दृश्य राखिएको छ भनेर सोच्दै हुनुन्छ भने एकदमै गलत सोच्दै हुनुहुन्छ।

यो गीतको म्युजिक भिडियोमा कहिँ कतैपनि संस्कृतिको झल्को पाईँदैन । गीतको पहिलो अन्तरा ‘जय लक्ष्मी जय दुर्गा माता भवानी, शक्तिशाली नारी म त उनकै दिवानी’ भन्दै सुरु भएको छ । जसमा स्वर भरेकी छिन् समिक्षा अधिकारीले ।

यो गीतको शब्द, संगीत तेजस रेग्मीको छ । रेग्मीकै युट्युब च्यानलमा सार्वजनिक यो गीतमा दशैँमा महिलालाई आशिष दिइने श्लोक उनैले गाएका छन् । भिडियोमा पनि तेजस रेग्मी लोशिना लामिछानेसँग देखिएकी छिन् ।

भिडियोमा लोशिना लामो कर्ली कपाल र सेतो कपडामा देखिएकी छिन् । जसले उनको शरिर मुश्किलले ढाकेको छ । गीतको पहिलो अन्तरामा देवीको सम्बोधन छ । तर यो आधुनिक गीतको भिडियोमा आइटम सङको जस्तै नृत्य प्रस्तुत गरिएको छ । ‘तालमा भुमरी, म त चञ्चले चञ्चले चन्द्रकुमारी’ बोलको यो गीतमा वैंशले भरिएकी युवतीको चञ्चलता नै देखाइएको छ ।

समिक्षाको सुमधुर स्वर र लोशिनाको शुन्दर नृत्य आइटम सङमा सुहाएका छन् । तर यस्तो आइटम सङमा मिसाइएका देवीहरुको नामले सर्जकहरु धर्म र संस्कृतीलाई गिज्याइरहेका छन् ।

हुन त गीतका निर्माताहरुलाई जसरी भएपनि राम्रो दाम कमाउने तिर मात्र ध्यान गएको पछिल्लो नेपाली संगीत बजारले देखाउँछ । महिलाहरुको महान पर्व तीजमा दर्जनौँ विवादास्पद गीत सार्वजनिक हुनुले थप पुष्टी गरेको छ ।

‘चन्द्रकुमारी’ गीतमा देवीहरुको शब्द प्रयोग गर्नुले पनि यो गीतलाई दशैँ लक्षित गर्न खोजिएको बुझिएको छ । तीजपछि चर्चाका लागि दशैँको मर्ममा पनि ठेस पुर्याउन खोजिएको छ ।

पछिल्लो समय व्यस्थ गायिका हुन् समिक्षा अधिकारी । पछिल्लो १० दिनमा उनले स्वर दिएको सातवटा गीत त सार्वजनिक नै भएका छन् । केही समयअघि विवादको घेरामा तानिएकी समिक्षा पछिल्लो समय पुरानै स्वरुपमा फर्किरहेकी छिन् ।

तर उनी आफु व्यस्थ बनिरहँदा कस्तो गीतमा काम गरिरहेकी छु भन्ने हेक्का राख्न भुलेकी छिन् । जसको परिणाम बनेको छ, यो गीत। जसले सनातन हिन्दु धर्मको धज्जि उडाएको छ । अझ यो गीतमा समिक्षाको ‘पपुलर’ भोइसको प्रयोग गरेर गीतका सिर्जनाकार तेजस रेग्मीले फाइदा उठाउन खोजेका छन् । सुन्दा आपत्तीजनक नलाग्ने खालका शब्द भएपनि यो गीतको भिडियो हेर्दा भने पचाउन गाह्रो लाग्छ । किनभने हिन्दु देवीहरुलाई पुज्न प्रयोग गरिने श्लोकमा आइटम डान्स गरिएको छ । र त, धार्मिक आस्था राख्नेहरुको भावनामा ठेस पुर्याएर नाम र दाम कमाउने प्रपञ्च गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्