Logo

बिपी राजगार्ममा फेरी अर्को विपत्ती, कानढुंग्रीनजिक भासियो सडक

सिन्धुली — बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीनजिक सडक भासिएको छ । सुनकोशी नदीले कटान गर्दै आएकाले आइतबार करिब ५० मिटर सडक धसिएको हो ।

शनिबार साँझसम्म यातायात सञ्चालन हुनसक्ने अवस्था नै रहेको सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । तर हाल कालोपत्रे सडकसमेत पूरै धसिएर दुईतर्फी यातायात बन्द भएको छ । उक्त सडक सुनकोशी–मरिण डाइभर्सनको सुरुङमार्गनजिकै सडक धसिएको हो ।

खुर्कोट–मूलकोट पनि शनिबार सुनकोशीको बाढीले क्षति पुर्याएको थियो । जुन शनिबार साँझसम्म प्रहरी, सेना र स्थानीय भएर सञ्चालनमा ल्याएका थिए । तर नदीको बहाव कम भइ नसकेको अवस्थामा सो सडक खुल्न सकेको छैन।

यस्तै नेपालथोक–खुर्कोट खण्डको कमेरेफाँटमा खसेको लेदोसहितको पहिरोले शनिबारदेखि नै बाटो अवरुद्ध भएको थियो । जुन नेपाली सेना र प्रहरी मिलेर पहिरो पन्छाउने प्रयास गरिरहेको छ। यस्तै विपी राजमार्गकै भकुण्डेवेशी–नेपालथोक सडकको बिचमा रहेको रोशी खोलाले करिब ६० मिटर सडक पूरै बगाएको थियो । उक्त क्षेत्रमा भने बाढी घटेपछि मात्र अस्थायी सडक निर्माण सुरु हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्