काभ्रे— बिहीबार रातिदेखिको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा ठूलो मानवीय क्षति भएको छ । काभ्रेका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, भुम्लुमा गरी १० जना, रोशी गाउँपालिकामा ११ र तेमाल गाउँपालिका १२ जनाको मृत्यु भएको छ । यसको सङ्ख्या थप बढ्न सक्ने अनुमान गरिएको छ किनभने अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धुलिखेल नगरपालिकाका १० र ११ वडामा १–१ जना, बनेपा नगरपालिका–१४ मा २ महिला, बनेपा–१० मा १ बालक, पनौती नगरपालिका–१२ मा १ महिला, पनौती–४ मा १ बालक, नमोबुद्ध नगरपालिका–२ मा १ बालक र १ बालिका, भुम्लु गाउँपालिका–८ मा १ पुरुष गरी १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार बाढी र पहिरोमा परी हालसम्म १३ जना बेपत्ता छन् भने १६ जना घाइते भएका छन् ।
काभ्रेको तेमाल गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए । उनका अनुसार तेमाल–२ स्थित चुखामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ । त्यस्तै तेमाल–७ स्थित चापाखोरीमा पहिरोले घर पुरिएर दुई महिलाको मृत्यु भएको लामाले बताए । उनका अनुसार मृत्यु हुनेमा ५५ वर्षीया एकल महिला पुतली तामाङ र उनकी बहिनी तथा तेमाल–४ मा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको उनले बताए ।
रोशी गाउँपालिकाका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजेसम्म ४ जनाको शव निकाल्न सकिएको उनले बताए । रोशी–१ मा १ जना, वडा ३ मा ३ जना, वडा ४ मा एकै परिवारका ५ जना, वडा ९ मा २ जना र वडा १० का १ जना गरी १२ जनाको मृत्यु भएको छ । रोशी–१० मा पहिरोमा पुरिएर १ जना बेपत्ता छन् ।
रोशी–७ स्थित थाङसिङ पक्की पुल बाढीले बगाएको छ । वडा ११ मा रहेको औद्योगिक ग्राम, डम्फु पार्कमा पनि बाढीले क्षति पुर्याएको छ । रोशी गाउँपालिकामा बन्दै गरेको १० शय्याको अस्पताल पनि पूर्ण रूपमा क्षति भएको छ ।
बाढी र पहिरोले काभ्रेका अरनिको र बीपी राजमार्ग खण्ड अवरुद्ध भएका छन् । विपि राजमार्गमा करिब तीन सय यात्रु अलपत्र छन् । सोमध्ये रोशीस्थित शान्ति बुद्ध आधारभूत विद्यालयमा करिब १ सय ५० जना, नार्केमा ५० जना, पिंथलीबेसीमा ९० जना यात्रु रहेका छन् ।
प्रतिक्रिया