काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पुरिएका गाडीहरुको उद्धार कार्य भइरहेको छ । आज मात्र दुई वटा माइक्रोबसबाट १० जनाको शव निकालि सकिएको छ ।
उद्धार कार्यको अगुवाई गरिरहेका रास्वपाका र्यापिट एक्सन टीम र्याटका आशिस थापाका अनुसार ती यात्रुहरु गोरखाबाट काठमाडौं आएको बसका यात्रु हुनसक्ने आशंका गरिएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।
बिहिबारदेखि शनिबार साँझसम्म आएको भारी वर्षाका कारण झ्याप्ले खोलामा शनिबार बिहान पहिरो गएको थियो । यसको जानकारी पाएपछि र्याट टोलीलाई नेतृत्व गदै आशिश थापा र प्रेम थापा शनिबार दिउँसो करिब १ बजेतिर नौ जनासहित घटना स्थलमा पुगेका थिए । त्यहाँ पुग्दा लेदो सहितको पहिरोले गाडीहरु पूर्ण रुपमा पुरिएको अवस्थामा भेटिएको थापाले बताए । उनले भने, ‘शनिबार बिहान करिब २ बजे झ्याप्लेखोलामा पहिरो खसेको थियो । हामी दिउँसो एक बजे त्यहाँ पुग्दासम्म प्रहरी प्रशासन कोही पनि पुगिसकेको थिएन । हामीले मेशिनहरु मगाएर बाटो खाली गर्न थाल्यौँ ।’
शनिबार राती रास्वपाको र्यापिड छोली प्रहरी र शसस्त्र प्रहरीको टोली दुईवटा बसबाट १४ जनाको शव निकाल्न सफल भयो । एउटा बसबाट नौ जना र अर्को माइक्रोबसबाट पाँच जनाको उद्धार गरिएको थियो । तर शवको सनाखत भने भइसकेको छैन ।
र्यापिड टोलीको नेतृत्व गरिरहेका थापाअनुसार पछिल्लो २४ घण्टा निरन्तर उद्धार प्रसायका बाबजुद अझैपनि सबै बसको उद्धार भइसकेको छैन । उनले भने, ‘अहिलेसम्म पनि बाटो पूर्ण रुपमा खाली भइसकेको छैन । एस्काभेटरले एउटा बस निकाल्दैछौँ । एउटा कार र हायस अझै पुरिएकै अवस्थामा छ । तीन/चार वटा बस अझै निकाल्न बाँकी नै छ ।’
त्यहाँको अवस्था देख्दा कुनैपनि गाडीबाट कोही जीवित व्यक्ति भेट्नसक्ने सम्भावनासमेत नरहेको उनले बताएका छन् । तर बाटो खाली गर्दै पुरिएका गाडीहरुको उद्धारमा र्यापिड टोली, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी निरन्तर खटिरहेको उनले बताए ।
प्रतिक्रिया