पहिरोले राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्समै गयो दुई यात्रुको ज्यान
काठमाडौं– बाढी र पहिरोले बिपी राजमार्ग बन्द हुँदा जाममा फसेका दुई बिरामीको मृत्यु भइको छ । सिन्धुलीबाट उपचारका लागि काठमाडौं ल्याउँदै गरेका दुईजना बिरामीको एम्बुलेन्समा नै मृत्यु भएको हो ।
सुनकोसी गाउँपालिका–१, दुम्जा नजिकै बिपी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि एम्बुलेन्सहरू बिहीवारदेखि नै बीच बाटोमा रोकिएका थिए। जहाँ सिन्धुली सदरमुकामबाट काठमाडौं उपचारका लागि आउँदै गरेका पाँचवटा एम्बुलेन्स पनि फसेका थिए । ती मध्ये दुई एम्बुलेन्सका बिरामीहरुको ज्यान गएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लागाउँ निवासी करिब ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ निवासी ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
टीका कुमारीको शुक्रबार र मानबहादुर सिंजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो। टिका कुमारीलाई रगतको कमी र दमको समस्या भएका कारण थप उपचारका लागि सिन्धुली अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो । मानबहादुर मृगौला पीडित थिए र उनलाई महोत्तरीको बर्दिवासबाट काठमाडौं उपचारको लागि लगिँदै थियो।
बिरामीहरुको शव पनि एम्बुलेन्समा नै रहेको छ । समयमा उपचार नपाएर ज्यान गुमाएका बिरामीहरुको शव गन्हाउन थालेको एम्बुलेन्स चालकले बताएका छन् ।
आइतबार बिहानदेखि वर्षा कम भएकाले पहिरो पन्छाउने र नदीले कटान गरेका सडकका डाइभर्सनहरू बनाउन सुरु गरिएको छ। सडक सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ। यराजमार्गमा फसेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर धुलिखेल अस्पलातमा ल्याउने काम भने सुरु भएका छन् ।