रामेछाप जाने सबै बाटो बन्द, बिपी राजमार्गका तीन वटा पक्की पुलमा क्षति


काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी–पहिरोका कारण रामेछापको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ ।

रामेछापलाई अन्य स्थानसँग जोड्ने दुइटा पक्की पुल सुनकोसी नदीले बगाएको, एउटा पुलमा क्षति पुगेको तथा राजमार्ग पहिरोले बगाएका कारण रामेछापको बाहिरी जिल्लासँग यातायात सम्पर्क टुटेको हो ।

सिन्धुली खुर्कोटमा रहेको र रामेछाप सेलेघाट जोड्ने पक्की पुलले रामेछापलाई काठमाडौं र तराईसँग जोड्ने काम गथ्र्यो । यस्तै नेपालथोक पुल पनि सुनकोशी नदीमा नै रहेको थियो । त्यसमध्ये खुर्कोट र नेपालथोकको पुल सुनकोसीले बगाएको छ भने सित्खाको पुलमा पनि क्षति पुगेको छ ।

बीपी राजमार्गमा ठाउँ ठाउँमा पहिरो र बाढीले सडक बगाएको छ । जसकारण बीपी राजमार्ग हुँदै रामेछाप जाने बाटो पूर्ण रुपमा बन्द भएको छ । यस्तै अरनिको राजमार्गबाट लखा हुँदै सदरमुकाम मन्थली तथा रामेछापका अन्य क्षेत्रमा सडक सञ्जाल जोडिएको छ । तर यो सडकखण्डमा किर्नेटार तथा मिल्तीखोलामा पहिरोले गएका कारण सडक अवरुद्ध भएको छ ।

बीपी र अरिनोको राजमार्ग नै अवरुद्ध हुँदै रामेछाप जाने बाटो बन्द हुँदा हाल रामेछाप यातायातको सम्पर्कबाट टुटेको छ ।