धादिङ– धादिङको झ्याप्लेखोलामा शनिबार बिहान करिब २ बजे गएको पहिरोमा परेर मृत्यु भएका १४ जनाको शवलाई शनिबार राति उद्धारका लागि खटिएको टोलीले निकाल्यो । ती मध्ये तीन जना थिए, वर्ष १५ दीपेश, दीपिका भट्टराई र सीता भट्टराई । दीपेश र दीपिका जुम्ल्याहा दाजु बहिनी हुन् भने सीता उनीहरुकी आमा हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थायी घर भएका उनीहरू बुटवलमा बस्थे । दीपेश र दीपिका कालिका मानवज्ञान माविमा कक्षा १० मा पढ्दै थिए । उनीहरु दुबैजना विद्यालयका सबैभन्दा अब्बल विद्यार्थी थिए । आगामी एसइईमा उनीहरुले ४ जिपिए ल्याउने आशा समेत राखेको थियो । उनीहरु पढाइमा जति अब्बल थिए उनीहरु विद्यालयबाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिन्थे ।
त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पियन प्रतियोगिता आयोजना गरेको थियो । दाजुबहिनीले अनलाइबाटै फर्म भरेका थिए । उनीहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भए ।
काठमाडौंबाट पहिलो चरणमा छनोट भएपछि दोस्रो चरणका लागि बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइन्थ्यो । बंगलादेशमा हुने प्रतियोगितामा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुन्थे ।
बंगलादेशमा विजेता बन्ने विद्यार्थी अन्य प्रतिस्पर्धाका लागि अमेरिका जान पाउँथे । त्यसैले प्रतियोगिता जितेर अमेरिकासम्म पुग्ने सपना उनीहरुको थियो । त्यसैले उनीहरु शुक्रबार बुटवलबाट असोज १७ मा काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुन १ ज ४५७८ नम्बरको माइक्रोमा चढेका थिए । तर उनीहरु चढेको माइक्रो काठमाडौं कहिल्यै पुगेन । शनिबार बिहान करिब दुई बजेतिर धादिङमा नै पहिरोमा पुरियो । जहाँ एउटै माइक्रोमा दीपेश, दीपिका र उनीहरूकी आमा सीतासहित १४ जना पुरिए ।
उनीहरु पुरिएर मृत्यु भएको खबर पाएपछि वैदेशिक रोजगारीका लागि कोरियामा रहेका बुबा होमनाथ स्तब्ध बनेका छन् । घटना जानकारी भएपछि नेपाल आउने तयारी गरेका छन् ।
यता झ्याप्लेखोलामा शनिबार फेला परेका १४ जनासहित आइतबार दिउँसोसम्म ३५ जनाको शव फेला परिसकेको छ । घटनास्थलमा पुरिएका गाडीहरुको उद्धारको लागि उद्धार टोली निरन्तर घटिएको छ ।
प्रतिक्रिया