Logo

सहकारी प्रकरणमा छविलाल जोशीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ– गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

जोशीका तर्फबाट रोचक जोशीले गैरकानुनी रुपमा थानामा राखेको र थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । उक्त निवेदन आइतबार सर्वोच्चमा दर्ता भएको थियो भने सोमबार पेसी तोकिएको छ।

न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम गोरखा मिडियामा अपचलन मुद्दामा पूर्वनिआइजी जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनलाई कास्की जिल्ला प्रहरी कार्यालय पोखरामा राखेर अनुसन्धान भइरहेको छ । त्यहाँ प्रहरीले उनको बयान लिइ सकेको छ ।

सहकारी रकम अपचलनको छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम गोरखा मिडियामा लगानी गरेको पाइएको निश्कर्ष निकालेको थियो। सोही अनुसार समितिले गोरखा मिडियाका अध्यक्ष गितेन्द्र बहादुर राई (जिबी), सदस्य कुमार रम्तेल, प्रबन्ध निर्देशक रवि लामिछानेका साथै तत्कालिन सञ्चालनक छविलाल जोशीलाई पनि कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिनिधिसभामा पेस भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए। असोज ४ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । प्रहरीले निर्देशन पाए लगत्तै जोशीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गर्दै सोही राती कास्की पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्