मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर


काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रसाईविरुद्ध मुद्दा दायर गरिएको हो ।

प्रसाई असोज ६ मा भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका हुन् । उनलाई विद्युतीय कारोबार ऐन विपरितको काम गरेको आरोपमा साइबर व्युरोमा उजुरी परेपछि पक्राउ गरिएको थियो ।

प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर दुबईबाट नेपाल फर्काएको दाबी गरेका थिए । सो दाबीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन् ।

त्यसपछि प्रसाईले उनको विरुद्ध देश दुनियाँ खबर युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’

आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । सोपछि अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्ने अनुमति दिएको थियो । हाल उनीहरु भने फरार रहेका छन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।