एनपिएलको कमर्सियल अधिकार ५ करोड ९२ लाख रूपैयाँमा बिक्री


काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमयर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले पाएको छ ।

क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटललाई कमर्सियल अधिकार दिइएको हो । त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो।

अब उक्त कम्पनीले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्ने अधिकार पाएको छ । अब मैदानमा हुने विज्ञापनको सबै अधिकार ब्रान्ड डिजिटलको हुनेछ । तर एनपिएलको टिकेटिङमा भने क्यान आफैँले बेच्नेछ ।

आगामी मंसिर १६ देखि पुस ६ सम्म हुने एनपिएलमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।