ललितपुरमा बाढिपहिरोमा ४० जनाको मृत्यु, १० जना घाइते



काठमाडौं–
ललितपुर जिल्लामा असोज १२ गते (शनिबार) को बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । मंगलबार बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको हो । मृतकमध्ये चारजना एकै परिवारका सदस्यसमेत छन् ।

ललितपुर प्रहरीका अनुसार माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ललितपुर जिल्लामा अझै १० जना सम्पर्कविहीन छन् । यसअघि ७ जनामात्र सम्पर्कविहीन भएको भनिएकामा त्यसमा अरु ३ जना थपिएर बेपत्ताको संख्या १० पुगेको हो ।

बेपत्ता हुनेहरुमा ललितपुरको माहाँकाल गाउँपालिका २ बस्ने १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र वडा नम्बर २ कै छविलाल स्याङ्तानकी भाउजू छन् । यस्तैै रौतहट घर भई ललितपुर महानगरपालिका १४ नखिपोस्थित कान्तिपुर कोलोनी बस्ने पाँच वर्षीय सेतु साह, रौतहटको गौर नगरपालिका ६ घर भई कान्तिपुर कोलोनीमै बस्ने ३२ वर्षीय बिकाउ साह, ओखलढुंगा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की र गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह बेपत्ता छन् ।

यसैगरी बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने पनि बेपत्ता छन् । यसअघि उनलाई प्रहरीले मृतकको सूचीमा राखे पनि आफन्तले शव फेला नपरेको भनेपछि बेपत्ताको सूचीमा राखिएको हो ।

बाढी पहिरोमा परी तीन जना घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । माहा‌काल गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको छ ।

यसैगरी माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ । उनी असोज १२ गतेदेखि बेपत्ता थिए । उनका आमा र श्रीमती सम्पर्कविहीन छन् ।