चीनको सांघाईमा अन्धाधुन्ध चक्कु चल्दा तीन जना मृत्यु, १५ जना घाइते
सांघाई- चीनको सांघाईमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ । सांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति अन्धाधुन्ध ३ जनाको मृत्यु, अन्य १५ जना घाइते भएका छन् ।
चिनियाँ प्रहरीले ३७ वर्षीय लिन नाम गरेका पुरुषलाई चक्कु प्रहार गरेको आरोपमा घटनास्थलबाट पक्राउ गरेको छ । उनी ‘व्यक्तिगत आर्थिक विवादको रिस पोख्न’ सांघाई आएको प्रहरीले जानकारी दिएको छ । यसमा विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो घटना सहरको दक्षिण पश्चिम सोङजियाङ जिल्लामा भएको हो । यो क्षेत्रमा विभिन्न विश्व विद्यालयहरू रहेका छन् । चक्कु प्रहार भएर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाइते अन्यको अवस्था भने ‘खतरामुक्त’ रहेको पनि जानकारी दिइएको छ ।
चीनमा व्यक्तिगत हतियार राख्न पाइँदैन । तर, पछिल्लो समय त्यहाँ चक्कु प्रहारका घटना बढ्दै गएका छन् ।
गत अगस्टमा दक्षिण चीनमा एक १० वर्षीय जापानी विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरिएको थियो । गत जुनमा उत्तरपूर्वी जिलिन सहरमा चार जना अमेरिकीमाथि पार्कमा चक्कु प्रहार भएको थियो । त्यस्तै, मे महिनामा युनान प्रान्तमा एक व्यक्तिले अस्पतालमा अन्धाधुन्ध चक्कु प्रहार गरेर दुई जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएका थिए ।