Logo

बाढी पहिरोले सडक बिग्रीएपछि सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौं– यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि दसैँको समयमा लामो दुरीको यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले सडक बिग्रिएर गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

१२ गतेको विपद्ले बस सञ्चालन हुननसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् । यसका लागि आजै सरकार पक्षसँग छलफल गर्ने तयारी रहेको उनले बताएका छन् ।

उता असोज १२ देखि सोमबारसम्ममा करिब ३० हजार यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १२ मा १८ हजार तीन सय ६५ र असोज १३ मा ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका छन् ।

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ ।

घटस्थापनाको दिनदेखिको टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ । यस विषयमा आज सरकारसँग छलफल गर्ने यातायात व्यवसायीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्