बीपी राजमार्ग दशैंअघि नै खुलाउने गरि काम सुरु, समयसै खुल्नेमा भने आशंका


काठमाडौं– शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध रहेको छ । सुनकोशी नदीको बाढीले खुर्कोटको पक्की पुल भत्काएको छ । भकुण्डेबेँसीदेखि नेपालथोक आसपासमा २.५ किलोमिटर सडक मानिस समेत हिँडडुल गर्न नमिल्ने गरि क्षति पुगेको छ ।

नेपालथोकबाट बर्दिबाससम्म जानभने सडकमा कुनै समस्या छैन । बिपी राजमार्ग अवरुद्धहुँदा अरनिको राजमार्गबाट दोलखा रामेछाप हुँदै सिन्धुली जाने बैकल्पिक बाटो हो । तर रामेछाप र दोलखालाई जोड्ने किर्नेको पुल पनि बाढीले बगाएको छ ।

यस्तो अवस्थामा दशैंअघि नै बिपी राजमार्ग खोल्नेगरि सडक विभागले काम थालेको छ । रोशीको बाढीले बगाएको राजमार्ग अन्तर्गतको भकुण्डेतर्फको मंगलटारमाथि खुर्कोट सडकखण्ड पुनस्निर्माणका लागि विभागले काम थालेको छ ।

बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

चारवटा डोजर लगाएर सडकमा अस्थायी व्यवस्था गर्न खोजिएको सडक विभागका महानिर्देशक रामहरी पोखरलले बताएका छन् । धुलिखेलबाट करिब ३४ किलोमिटरको दूरीमा रहेको चौकीडाँडामा २ वटा डोजर लगेर बाटो मिलाउँने काम भइरहेको छ । यस्तै मंगलटारबाट पनि २ वटा मेसिनले काम गरिरहेको छ ।

दशैँअघि नै अस्थायी संरचना बनाएर आवत जावत गर्न सकिने बनाउन खोजेको निर्देशक पोखरेलले बताए । पहिला अस्थायीबाट काम चलाएर पछि बजेट नै विनियोजन गरेर स्थायी मर्मत गर्ने योजना रहेपछि दशैँअघि सडक खुलाउन नसक्ने हो की भन्दै उनले आशंका जनाए ।

यस्तो अवस्थामा पूर्वी क्षेत्रमा जान हेटौंडा हुँदै यात्रा गर्न सकिने वैकल्पिक अवस्था रहेको छ । यस्तै रामेछाप, ओखलढुंगा, खोटाङलगायतमा चरिकोटबाट जान सकिने अवस्था रहेको विभागले जनाएको छ।