अनलाइनमार्फत आइफोन अर्डर, पैसा तिर्ने बेला डेलिभरी ब्वाइको हत्या
भारत– भारतको लखनउमा आइफोन डेलिभरि गर्न गएका ३० वर्षीय डेलिभरी म्यानको हत्या भएको छ । एक लाख ५० हजार भारु बराबर मुल्यको आइफोन डेलिभरी गर्न जाँदा उनको हत्या भएको हो । अधिकारीहरुका अनुसार ती पुरुषको शव हत्यापछि इन्दिरा नहरमा फ्याँकिएको छ । भारतको राज्य विपद् प्रतिक्रिया बलको टोलीलाई ती युवकको शव पत्ता लगाउन खटाइएको छ ।
डेप्युटी कमिस्नर शशांक सिंहका अनुसार चिनहटका निवासी गजानन नाम गरेका व्यक्तिले फ्लिपकार्ट मार्फत आइफोन अर्डर गरेका थिए । लगभग डेढलाख भारु मूल्यको आईफोन उनले क्यास अन डेलिभरी गर्ने विकल्प रोजेका थिए ।
उनको अर्डर डेलिभरी गर्न २३ सेप्टेम्बरमा निशातगञ्जका डिलिवरी म्यान भरत कुमार साहु तोकिएको स्थानमा गएका थिए । जहाँ गजानन र उनका साथी आकाश मिलेर भरतको हत्या गरेका हुन्। साहुको घाँटी थिचेर हत्या गरी शवलाई बोरामा राखेर इन्दिरा नहरमा फालेको पाइएको प्रहरीले जनाएको छ ।
उता भरत दुई दिनसम्म घर नफर्केपछि उनको परिवारले हराएको भन्दै सेप्टेम्बर २५ मा चिनहट प्रहरी चौकीमा उजुरी दिएका थिए । भरतको कल लगहरू परिक्षण गर्दा र उनी गएका स्थानको ट्र्याक गर्ने प्रयास गरेर र सिसिटिभी क्यामराको मदतले प्रहरीले गजाननको नम्बर पत्ता लगाएको थियो । त्यसपछि उनको साथी आकाशलाई प्रहरीले सम्पर्क गरेको थियो । आकाशले आफुहरुले भरतको हत्या गरेको स्विकार गरिसकेका छन् ।
हालसम्म प्रहरीले भरतको शव भने फेला पारेको छैन । नहरमा उनको शव खोजी गर्ने काम भइरहेको छ ।