१८ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ ।

१८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

यसअघि असोज १० गतेदेखि तीन दिनसम्म आएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको थियो । बाढी र पहिरोका कारण हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सरकारले प्रारम्भिक अनुमानसमेत गरेको छ ।