ठुला ब्रान्डका कम्पनीमा गुणस्तरहिन सामान, आँगन स्वीट्सदेखि एभरेष्ट होटलसम्म कारबाहीमा


काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला कम्पनी र होटलहरुमा छापा मार्दै कारबाही गरिरहेको छ ।

यसै क्रममा विमागले आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा छापा मारेको छ । विभागले छापा मार्दा आँगन फुड्समा उत्पादन भइरहेको मिठाइहरु बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी बनाइएकाृ भेटिएको छ । सोपछि विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराएको विभागका महानिर्देशक राजन दाहालले बताएका छन् ।

विभागले मंगलबार जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । सो क्रममा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

यसअघि सोमबार विभागले दुईवटा पाँचतारे होटललाई कारबाहि गरेको थियो । नयाँ बानेश्वरस्थित एभरेष्ट होटेल र बबरमहलस्थित बसेरा होटेललाई विभागले तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।

विभागका महानिर्देशक दाहालका अनुसार एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको थियो । बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।

चाडबाड नजिकिएसँगै अनुगमन बढाएको विभागले जनाएको छ । विभागले सोमबार मात्र कुल ३९ फर्मको अनुगमन गरेको छ ।