Logo

तीन दिनपछि मलेसियाबाट घर फर्कदै थिए बुबा, २६ महिने छोरीलाई देख्न नपाउँदै आँगनबाटै चितुवाले लग्यो

बाँके– बाबा, मम्मी, दादा, आमा भन्दै दोहोरो कुराकानी थाली सकेकी थिइन् २६ महिनाकी लक्ष्मीले । आफु जन्मनुभन्दा ६ महिना अघिनै वैदेशिक रोजगारीमा गएका बुबालाई फोन गरेर आफ्नै भाषामा फ्रक, चकलेट ल्याइदिन भन्थिन् । वैदेशिक रोजगारीका लागि मलेसिया रहेका उनका बुबा ३६ वर्षीय वीरेन्द्र पुनपनि भर्खरै बोल्न सिकेकी छोरीसँग फुर्सत मिल्नेबित्तिकै कुरा गरीहाल्थे ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका वीरेन्द्र साँढे दुई वर्षभन्दा लामो मलेसिया बसाईपछि उनी असोज २ मा घर फर्किने भए । घर फर्किनुभन्दा तीन दिन अघिनै घरमा फोन गरेर श्रीमती सीतालाई छोरीसँगै आफूलाई लिन नेपालगञ्जस्थित राँझा एयरपोर्टमा आउन भनेका थिए ।

सीता र वीरेन्द्रका दुई छोराहरु पनि छन्, १३ वर्षीय छोरा गोविन्द र ९ वर्षका अर्बिन । छोराहरुसँग थोरै समय भएपनि बिताउन पाएका वीरेन्द्रले छोरी जन्मिइकन आफ्नै काखमा राख्न र कुरागर्न पाएका थिएनन् । त्यसैले उनलाई कहिले घर फर्कनु र छोरीलाई काखमा लिनुजस्तो भएको थियो ।

उनले झोलामा छोरीलाई मन पर्ने खालका करिब २० हजार रुपैयाँको लुगाफाटो, खेलौना किनेर प्याकिङ गरिसकेका थिए । फोनमा कुराकानी गरेको भोलीपल्ट उनी भदौ ३१ मा मलेसियामा डिउटीमा नै थिए । समय मिलेको बेलामा मोबाइल हेरिरहेका थिए त्यहीबेला गाउँपालिकाको पेजमा छोरीको नामसहित बेपत्ता भएको सूचना राखिएको देखे ।

त्यसपछि वीरेन्द्रको होस हवासै उड्यो, जमिन भासिए झैँ लाग्यो । उनी तत्काल कामबाट आफू बस्ने ठाउँमा फर्किए र घरमा फोन गरे । घरमा बुढी आमा र बहिनीसँग उनको कुरा भयो । उनीहरुबाटै वीरेन्द्रले रातको करिब ८ बजे छोरी घरको आँगनबाट बेपत्ता भएको थाहा पाए । पत्नी सीता छोरी बेपत्ता भएदेखि नै बेहोसीको हालतमा थिइन् ।

३० भदौको राती करिब आठ बजेतिर पुन परिवारले बेलुकाको खाना खाइसकेको थियो । लक्ष्मीपनि दुध र रोटी खाँदै थिइन् । हजुरआमा र दाजुहरु घरबाट २० मिटरजति दुरीमा रहेको खोरमा बाख्रा निकाल्न भनेर गएका थिए । दाजुहरु गएपछि लक्ष्मिपनि बाख्रालाई रोटी खुवाउने भन्दै पछि लागेर घरबाट निस्किएकी थिइन् ।

केहि छिनपछि दाजुहरु घर फर्किए तर लक्ष्मी भने घरभित्र छिरिनन् । उनलाई आँगनबाटै नरभक्षी चितुवाले लगिसकेको थियो । उता परिवारका सबै मिलेर लक्ष्मीको खोजी गर्न थाले । उनलाई नभेटेपछि घरमा कोलाहल मच्चियो । छिमेकीले थाहा पाएर लक्ष्मीको खोजीका लागि उनीहरु पनि सरिक भए, प्रहरीलाई पनि बोलाए । राति १२ बजेसम्म नभेटिएपछि अर्को दिनको लागि खोजी कार्य थाँति राखियो ।

घटनाको पर्सीपल्ट लक्ष्मीको टाउको र एउटा खुट्टा मात्र घरभन्दा करिब १ किलोमिटर पश्चिममा रहेको जंगलमा टाढा फेला पर्यो । त्यसको भोलीपल्ट असोज २ मा वीरेन्द्र मलेसियाबाट घर फर्किएका थिए । त्यतीबेलासम्म उनका आफन्त र छिमेकीले नै शवको पोस्टमार्टम गरेर शव फिर्ता ल्याइसकेका थिए । बाटोमै छिमेकीले उनलाई छोरीको शव देखाउन खोजे तर उनले हेर्ने आँटै गर्न सकेनन् । त्यसपछि आफन्त र छिमेकीले लक्ष्मीको चितुवाले खाएर बाँकी रहेको शव जङ्गलमा गाडीदिए । सानी लक्ष्मीको वियोगमा पुन परिवारले आफ्नो धार्मिक तथा जातीय परम्पराअनुसार तीन दिनसम्म नुन छाड्यो । पाँचदिनमा छोरीको दाहसंस्कार सक्काएपनि त्यो पीडाबाट बाहिर निस्किन भने सकेको छैन ।

वीरेन्द्रको घरको वरिपरि धानखेत छ। झन्डै पाँच सय मिटर पश्चिममा जिगरा सामुदायिक वन छ। उक्त वनमा नरभक्षि चितुवाको त्राश रहँदै आएको छ । यसलाई समात्न
तीन वटा खोरमा बाख्रा, कुकुर तथा भेडाहरु राखेर चितुवालाई पासो थाप्ने गरिएको छ। पाँच वटा क्यामेराको सहयोगमा चितुवाको निरन्तर निगरानी हुँदै आएको इलाका प्रहरी कार्यालय धनौली बाँकेका प्रमुख प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए। तर हालसम्म नरभक्षी चितुवा पाँसोमा भने पर्न सकेको छैन ।

यस्तै पछिल्लो तथ्याङ्क अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ पाटे बाघ छन्। बाघको सङ्ख्या बढ्दा मानव र बाघबिच द्वन्द्व बढ्दै गएको छ । विशेषगरी बाघ र चितुवाहरु कमजोर र बुढो भएपछि सजिलो आहार खोज्न जङ्गल छाडेर मानव वस्ती पस्ने र शिकार गर्ने गरेका छन् । बच्चासहितको माउले पनि धेरै आहारा खानुपर्ने हुँदा सजिलो शिकारको खोजी गर्न थाल्छ। त्यसले गर्दा घर पालुवा जनावर र मानिसहरुमा असुरक्षासमेत बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्