काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेसिया बसेर नेपाल फर्किएका युवक एयरपोटबाटै पक्राउ परेका छन् । सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी नेपाल आइपुग्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो ।
उनीमाथि सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोप छ । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् ।
करिब तीन वर्षअघि फेसबुक साथी बनेका उनीहरु मेसेन्जरमा कुरा गर्थे । त्यही क्रममा उनीहरूबीच अन्तरङ्ग तस्वीरहरू आदानप्रदानसमेत भएका थिए।
त्यसको केही समयपछि युवक वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनी विदेश गएपछि उनीहरुको सम्बन्ध बिग्रीन थालेको थियो । सोही क्रममा ऐरीले फेसबुकमा नक्की अकाउन्ट बनाएर युवतीका अश्लील तस्वीरहरू आफन्त र साथीभाइलाई पठाइदिएका थिए ।
आफन्तले अश्लील फोटो पाएको जानकारी दिएपछि पीडित युवतीले ब्युरोमा २३ वैशाख २०७९ मा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उजुरी दिएकी थिइन् । घटनाको अनुसन्धान गर्दा अश्लिल फोटो पठाउन ऐरी संलग्न रहेको खुलेको थियो ।
उनै ऐरीलाई फरार सूचीमा राखी इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो । त्यसपछि गत सोमबार उनी मलेसियाबाट फर्किँदैगर्दा विमानस्थलसँग समन्वय गरेर उनको पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया