Logo

श्रीमतीले श्रीमानको गोजीबाट गुट्खा चोरेर खान थालेपछि…

एजेन्सी– सूर्तीजन्य पदार्थ सेवन गर्नु आफैँमा नराम्रो बानी हो । यसले क्यान्सर रोगका साथै विभिन्न स्वास्थ्य समस्याको जोखिमसमेत निम्त्याउने गर्छ ।

तर यस्ता पदार्थ कहिलेकाहीँ झगडाको मुख्य बिउ पनी गर्छ । भारतको उत्तर प्रदेश राज्यका एक दम्पत्ती गुट्खा खाने निहुमा झगडा पर्दा प्रहरीसम्म पुगेका छन् ।

यो दम्पतीको बिहे सन् २०२२ मा भएको थियो । भारतीय सञ्चारका माध्यम इन्डिया टुडेका अनुसार यो जोडीको विवाह भएको सुरुमा श्रीमतीलाई गुट्खाको लत थिएन । तर निजी कम्पनीमा काम गर्ने श्रीमानमा भने यसको लत थियो । श्रीमानले गुटखा खाँदाखाँदै श्रीमतीले पनि खान थालिन् । विस्तारै दुबैजनामा यसको लत बस्यो ।

त्यसपछि श्रीमतीले आफ्नो गोजीबाट गुटखा चोरेर खान थालेको श्रीमानको भनाइ छ । यही विषयलाई लिएर उनीहरुबिच झगडासमेत पर्न थाल्यो । झगडा बढ्न थालेपछि श्रीमानले श्रीमतीलाई प्रहरीसम्म लगे । त्यसपछि श्रीमतीले पनि श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

यो पारिवारिक मामिला भएकोले प्रहरीले दुवैलाई काउन्सिल गर्ने निर्णय गरेको थियो । यो दम्पतीलाई प्रहरीले पारिवारिक परामर्श केन्द्रमा पठाएको थियो । काउन्सिलिङका क्रममा दुवैले आ–आफ्नो असन्तुष्टी पोखेका थिए । आफूले पटक–पटक गोजीबाट गुट्खा झिकेर नखान भन्दा पनि श्रीमतीले गुट्खा चोर्न नछाडेको श्रीमानको भनाई छ । श्रीमतीले भने अलिकति गुटखा मात्र निकाल्ने गरेको बताइन् ।

उनीहरुको गुनासो सुनेपछि काउन्सिलरले दुवैलाई गुटखा छाड्न सल्लाह दिएका छन् । दुवैले काउन्सिलरको अगाडि फेरि गुटखा नखाने वाचासमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्