Logo

नयाँ रियालिटि शो ‘अन्ताक्षरी’को डिजिटल अडिसन सुरु

काठमाडौं– नयाँ रियालिटी शो ‘अन्ताक्षरी’को डिजिटल अडिसनको घोषणा गरेको छ । शो सञ्चालनमा ल्याउन लागेको नोबडी प्रोडक्सनले दशैंको घटस्थापनाको अवसर पारेर डिजिटल अडिसनको घोषणा गरेको हो ।

प्रोडक्सनले गत भदौ २४ गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै रियालिटी शो ‘अन्ताक्षरी’ को घोषणा गरेको थियो । नोबडी प्रोडक्सनको आधिकारिक सामाजिक सञ्जाल डोकोमार्फत आज साँझ ५ बजे यसबारे भिडियो पोस्ट गर्दै डिजिटल अडिसनको घोषणा गरिएको हो ।

लगभग पाँच मिनेट लामो प्रोमोसनल भिडियोमार्फत शोमा सहभागी हुन चाहने सबैजनालाई ‘अन्ताक्षरी’ को यात्रामा जोडिन आग्रह गरिएको छ।

नेपालमा ‘को बन्छ करोडपति’, ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’, ‘क्राइम पट्रोल नेपाल’ जस्ता फ्रेन्चाइज सो भित्र्याउने नोबडी प्रोडक्सनको यो नयाँ शोलाई निकै प्रतिक्षा गरिएको छ। शोको फर्म्याट, होस्ट ‌ लगायत सबै कुराहरू गोप्य राखिएको छ । यसले पनि दर्शक माझ यो शोलाई लिएर कौतुहलता बढेको छ।

यस शो चैतदेखि टेलिभिजन र अन्य डिजिटल प्लटफर्ममा आउने शोका प्रोजेक्ट हेड बिपिनकुमार आचार्यले बताएका छन्। शोको प्रिप्रोडक्सन कार्य धमाधम भइरहेको र डिजिटल अडिसन पछाडि फिजिकल अडिसन हुने उनले अनलाइन टिभी नेपाललाई टेलिफोन सम्पर्कमार्फत जानकारी दिए ।

घटस्थापनाको पावन अवसरमा सुरु भएको अन्ताक्षरीको वर्ल्ड वाइड डिजिटल अडिसनमा सहभागी हुनका लागि अन्ताक्षरीको ह्वाट्सएप र भाइबर नम्बर ९८६८६३४८०७ मा आफ्नो नाम नम्बर ठेगाना खुलाई अन्ताक्षरी खेलेको भिडियो पठाउन सकिनेछ। पठाएको भिडियोमा अन्ताक्षरीको फर्म्याटमा कम्तिमा ६ वटा गीत गाएर पठाएर डिजिटल अडिसनमा सहभागी हुन सकिन्छ ।

नोबडि प्रोडक्शनले भदौ २४ मै ‘अन्ताक्षरी’का साथै अरू दुई रियालिटी सो सारेगमप लिटिल च्याम्पस् नेपाल सिजन २ का साथै ब्रिलियन्ट ब्रेन्सको पनि घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्