काभ्रेपलाञ्चोक– बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का भिमबहादुर शंकर बुधबार गाउँ फर्किए । करिब तीन हप्ताअघि मात्र दशैं खर्चको लागी केही पैसाको जोहो गर्न काम खोज्दै उदयपुर पुगेका उनको श्रीमती र छोरा पहिरोले पुरिएपछि काम बीचमै छाडेर फर्किएका हुन् ।
उनी २६ भदौमा गाउँकै ६ जना साथीहरुसँग उदयपुर पुगेका थिए । त्यहा उनले खानेपानीको पाइप जोड्ने काम गरेर केही रकम जम्मा पनि गरे ।
यता काभ्रो गत बिहीबारदेखि अविरल पानी परिरहेको थियो । शुक्रबार राती पानी परिरहेको समयमा श्रीमती सविता शंकर र उनका छोरा ११ वर्षीय समिर घरमा सुतिरहेका थिए । सोही समयमा अत्यधिक वर्षाको कारण आएको पहिरोले उनीहरु घरमा सुतिरहेको अवस्थामा नै पुरिए । उनीहरु पुरिएको भोलिपल्ट मात्रै छिमेकीले थाहा पाए ।
छिमेकीले घरका दुईजना पुरिएको थाहा पाउने बित्तिकै उदयपुरमा रहेका भिमबहादुरलाई खबर गरे । उनी तत्कालै घरतर्फ हानीए । तर पहिरोले बाटो अवरुद्ध भएपछि उनी तीनदिन पछि मात्र गाउँ पुगे । बुधबार दिउँसो उनी गाउँ नपुग्दै गाउँपालिकाको अध्यक्षलाई भेटेपछि भक्कानिए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको अगाडी थचक्कै बसेर पुपूर्रोमा हात राख्दै भने ‘म बाँच्न मात्रै घरबाट निस्किएको जस्तो भयो ।’
भिमबहादुरका तीन सन्तान छन् । जेठो छोरा सुरेन्द्र भारत बस्दै आएका छन् भने माईलो छोरा सन्तोष काठमाडौं बस्दै आएका छन् । कान्छो छोरा समिरभने आमासँगै बस्दै आएका थिए । शनिबार आएको पहिरोले भिमबहादुरको घरमात्र पुरिएको छैन, त्यहाँ उनकी जहान र कान्छो छोरा पनि अस्ताएका छन् । उनको भएको जग्गा जमिनपनि पहिरोसँगै पुरिएको छ ।
गत हप्ताको बिपत्तीले काभ्रेमा भीमबहादुरको परिवारमा जस्तै धेरै परिवारमा बज्रपात परेको छ । हालसम्म बाढी र पहिरोमा परेर काभ्रेमा ७२ जनाले ज्यान गुमाएका छन् भने ५ जना अझै बेपत्ता छन् ।
बाढी र पहिरोमा परेर सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ । वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएको तथ्यांक हालसम्म प्राप्त भएको छ ।
प्रतिक्रिया