Logo

केयरगिभिङका लागि कामदारहरु मंसीरमा इजरायल जान पाउने, युद्धमा रहेको देशमा नेपाली कामदारको सुरक्षामा चिन्ता

काठमाडौं– इजरायलमा केयरगिभिङका लागि छनौट भएका कामदारहरु मंसीरमा रोजगारीको लागि जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेका कामदारहरु तिहारपछि जान मिल्नेगरि प्रक्रिया अघि बढाएको वैदेशिक रोजगार विभागले जनाइको छ ।

असोज १३ मा बिपीले कामदारको लक्की ड्र मार्फत छनौट गरेर नेपाल पठाएको थियो । त्यहाँबाट छनौट भएर आएका दुई हजार ११२ जनाको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

कामदारको स्वास्थ्य परीक्षण गरेर त्यसको विवरण पुनःपीबालाई पठाइने र पीबाबाट ठिक छ भन्ने जवाफ आएपछि वैदेपशक रोजगारी जानु अघि प्रदान गरिने अभिमुखीकरण तालिमका लागि कामदारलाई पठाउने विभागले जनाएको छ । तालिम लिइसकेपछि पीबालाई पत्राचार गरिनेछ । त्यसपछि इजरायलस्थित रोजगारदाताले कामदारसँग करार सम्झौता गरेर पठाउनेछन् र उनीहरुले नै कामदारको भिसा शुल्क तिरिदिनेछन् ।

त्यसपछि विभागले कामदारको भिसाका लागि नेपालस्थित इजरायली राजदूतावासमा पठाउनेछ । दूतावासबाट भिसा लागेर आएपछि कामदारलाई इजरायल जाने बाटो खुल्नेछ । सबै प्रक्रिया सकिएर श्रमिकहरू मंसिरसम्ममा इजरायल उड्न पाउनेछन् ।

इजरायलले दुई हजार जना केयरगिभर माग गरेको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहेका छन् ।

इजरायलमा कामदारको लागि राम्रै सेवा सुविधा दिइएको छ । तर सुरक्षाको दृष्टिकोणले पछिल्लो समय इजरायल जोखिमपूर्ण बनिरहेको छ। इजरायलले इरान तथा लेबनानमा आक्रमण गरिरहेको छ र प्रतिबादमा लेबनान र इरानले समेत इजरायलमाथि आक्रमण गरिरहेका छन् ।

यस्तो युद्धको जोखिम भएको इजरायलमा नेपाली श्रमिक पठाउन नहुने धेरैको तर्कसमेत रहेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले सचेत रहेको जनाएको छ । विभागका अनुसार कामदार पठाउने प्रक्रिया सकिएपछि यस विषयमा राष्ट्रिय सुरक्षा परिषद्मा छलफल हुनेछ । परिषद्ले तत्काल कामदार इजरायल पठाउन नहुने निर्णय गरेमा तत्काल नपठाउने विभागले जनाएको छ ।

इजरायलमा तत्काल कामदार पठाउँदा आउन सक्ने सुरक्षा चुनौतीका विषयमा गृह मन्त्रालयले पनि अध्ययन गर्नेछ भने परराष्ट्र मन्त्रालयले सुरक्षा जोखिमबारे बुझ्ने विभागले जानकारी दिएको छ । इजरायलले भने नेपालीको सुरक्षाको जिम्मेवारी आफ्नो भएकाले कुनै खतरा नहुने भन्दै सरकारलाई कन्भिन्स गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्