शरिरमा बेरेर ल्याएको आठ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ


हेटौँडा– मकवानपुरको हेटौँडाबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ३ बजे हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सुन बरामद भएको हो।

बरामद गरिएको ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ। उनीहरुको साथबाट शरीरमा रुमालले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू जनकपुरबाट सुन लिएर पथलैयासम्म बसमा आएका थिए। पथलैयाबाट भने स्कुटरमा हेटौँडातर्फ आउँदै गरेका थिए। बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।