Logo

बुबा दृष्टीबिहीन, समयमा उपचार नपाएर सुत्केरी आमाले ज्यान गुमाएपछि…

कैलाली– तस्बीरमा एउटा भावव्हिल तस्बिर देख्नसक्नुहुन्छ । नाङ्गो डाढ, टुप्पीमात्र राखेर खौरिएको कपाल भएका दुई बालक एक अर्कालाई ढाडस दिँदै अगाडी खोलातर्फ हेरिरहेका छन् । खोलाको किनारमा मलामीहरु छन् र सँगै जलिरहेको छ, एउटा चिता ।

दुईदिन अघि सुत्केरी हुँदा समयमा उपचार नपाएर ज्यान गुमाएकी २९ वर्षीया सरिता देवी जैसीको चिता जलिरहेको छ । तस्बीरमा देखिएका यी बालकहरु उनै सरिताको छेठो र माइलो छोरा ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण जैशी हुन् । जस्ले भर्खरै आमाको दागबत्ती दिएका छन् ।  । उनीहरु आमाको चिता जल्दैजाँदा डाँको छोडेर रोइरहेका थिए । बालकहरुको अवस्था देखेर सँगै गएका मलामीको पनि आँखा ओभानो रहन सकेन ।

अछामको ढकारी गाउँपालिका– ६ की २९ वर्षीया सरितादेवीलाई बिहीबार बिहान सुत्केरी बेथा लागेपछि ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो । तर उनले स्वास्थ्यचौकी पुग्नुभन्दा अघि नै बिहान ३ बजेतिर बाटोमै छोरालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मिएपछि अत्यधिक रक्तस्राव हुन थालेपछि उनलाई ढुंगाचाल्ना स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ साल निकाल्न नसकिएको भन्दै स्थानीय स्वास्थ्यकर्मीहरूले सरितालाई जिल्ला अस्पताल मंगलसेन रेफर गरेका थिए । सदरमुकाम मंगलसेन पुग्नुअघि नै बिहान साढे नौ बजे उनको बाटोमै मृत्यु भएको हो ।

जिल्ला अस्पताल मंगलसेनका डाक्टर अतुल भारद्वाजले साल अड्किएर रगत भित्रै थुनिएका कारण सरिताको मृत्यु भएको बताएका छन् । उनलाई ढिलो गरी अस्पताल ल्याउँदा उनको ज्यान गएको चिकित्सकले बताएका छन् ।

उता सरिताका श्रीमान टङ्क जैशी दृष्टीवीहिन छन् । उनकी सासु पनि अस्वस्थ छिन् । त्यसैले सबै जिम्मेवारी सरिताको नै काँधमा थियो । तर उनको मृत्यु भएपछि दुई दिनअघि जन्मेका नवजात शिशु पनि भोकभोकै परेका छन् ।

समयमा उपचार नपाउँदा सरिताको मृत्यु भएपछि अहिले ९ वर्षका युवराज, ७ वर्षका लक्ष्मण र भर्खरै जन्मिएको शिशु टुहुरा भएका छन् । आमाको मृत्युले शोकमा रहेका अबोध बालकहरूलाई के खाने के लगाउने भन्ने चिन्ताले पनि सताउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्