Logo

बालुवाटारबाट बाहिरिएपछि जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश भएको छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताबाट हटेपछि वास्तविक रुपमा जनताको प्रधानमन्त्री बनेको महसुस गर्न थालेको बताएका छन् ।

शनिबार माओवादी केन्द्रले काठमाडौं दोलखा सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू बालुवाटारबाट बाहिरिएपनि अहिले पनि जनताको प्रधानमन्त्री नै रहेको महसुस भइरहने बताए । उनले सत्ताबाट हटेपछि माओवादी र स्वयं आफू पनि निक्कै सक्रिय बनेर पार्टीको काममा लागेको पनि सुनाए ।

‘म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम–कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ’ उनले भने ।

फरक प्रशंगमा प्रचण्डले माओवादी जागेको देख्दा ठूला भनिएका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सातो गएको दाबीगरे । उनले आफूहरु आगामी निर्वाचनसम्म जनताको घरघरमा पुग्ने र ०८४ सालको चुनाव एक्लै लडेर आफ्नो पहिचान स्थापित गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । ‘माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग मिलेर जनतामा जाँदा माओवादी हराएको जस्तो लाग्यो । ०८४ सालको चुनावमा हामी एक्लै लड्नेछौँ । माओवादीको पहिचान स्थापित गर्ने संकल्प गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत दोलखाको गौंरीशंकर गाउँपालिकामा जसरी पनि जित निकाल्ने गरी काममा खटिन् कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गौंरीशंकर गाउँपालिकामा कांग्रेसबाट निर्वाचन उपाध्यक्ष श्यामबहादुर तामाङको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रचण्डले सो उपनिर्वाचन पार्टीले एक्लै लड्ने पनि जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्