Logo

आजपनि चितवनमा रविको कार्यक्रममा अवरोध, आन्दोलनकारी प्रहरीको नियन्त्रणमा

चितवन– चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार चितवनको नारायणी कला मन्दिरमा रास्वपा सभापती रवि लामिछानेले ‘दुग्ध क्षेत्रको विकास’ विषयमा नीति मन्थन कार्यक्रम राखेका थिए ।

कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले संवोधन गर्दै थिए । कार्यक्रमस्थल बाहिर सहकारीपीडित सहितको टोलीले लामिछानेविरुद्ध नाराबाजी गरिरहेका थिए । नाराबाजी गरिरहेको टोली कार्यक्रममा स्थलमा जान खोज्दा प्रहरीले रोकेपछि हानाहानको स्थिति सृजना भएको हो । यस विषयमा अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । सहकारी पीडितको तर्फबाट कुरा राख्न आफूहरु कार्यक्रममा जान खोज्दा गेट लगाएर बाहिर नै राखिएको र भित्रबाट रास्वपा कार्यकर्ताले ढुंगा हान्न सुरु गरेपछि दुई पक्षबीच हानाहानको स्थिति सृजना भएको अनेरास्ववियूले जनाएको छ ।

सहकारी पीडितको नाराबाजीलाई समर्थन गर्दै एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठन र युवाहरुको संगठन पनि त्यहाँ पुुगेका थिए । घटनास्थलबाट अनेरास्ववियु चितवनका जिल्ला अध्यक्ष हरि आचार्य र नेपाल विद्यार्थी संघका नेता अनमोल अधिकारीसहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

उता कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वपाको दाबी छ । रास्वपाले सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको हो ।

सभापति लामिछानेको सचिवालयले भनेको छ, ‘कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुंगा प्रहार गरेका थिए । वास्तवमा तिनीहरु सहकारी पीडित नै होइनन् । कांग्रेस र एमालेका कार्यकर्ताको ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ नै परेका छन् । यसबाट पनि उनीहरु सहकारी पीडितको नाममा विथोल्न खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।’

आफू निर्वाचित क्षेत्रका जनतासँग तेस्रो सार्वजनिक सुनुवाइलगायत पार्टीको कार्यक्रममा सहभागी हुन रास्वपाका सभापति लामिछाने शुक्रबारदेखि चितवनमा छन् । हिजो चितवनको मुग्लिनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमा पनि सहकारी पीडितहरुले कालो ब्यानर देखाउँदै उनीविरुद्ध आन्दोलन गरेका थिए ।

यसअघि शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्