Logo

दुर्गा प्रसाई पक्राउको विरोधमा आगजनी गरिएको ट्रकको चालकको मृत्यु

झापा– दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै झापामा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले सुनसरीको दुहबीमा जुट पुर्‍याएर पुर्वतर्फ फर्कँदै गरेको ट्रकमा चालकलाई बाहिर निस्किन नदिई आगजनी गरेका थिए ।

डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको उक्त ट्रकलाई १०÷१२ जनाको समुहले आगजनी गरि फरार भएका थिए । ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो भने ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेको थियो ।

उनको सुरुमा बीएण्डसी अस्पतालमा उपचार लगिएको थियो । पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो । सोहि अस्पतालमा उपचार भइरहेको क्रममा उनको शनिबार मृत्यु भएको हो । चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।उक्त शव अहिले भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुर्गा प्रसाईले भर्खरै गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्