Logo

नाबालिक बलात्कार मुद्दापछि खोसियो ‘पुष्पा’ फिल्मका नृत्य कोरियोग्राफरको राष्ट्रिय पुरस्कार

काठमाडौं– नाबालिग सहायक कोरियोग्राफरलाई बलात्कार गरेको आरोप लागेका बलिउड कोरियोग्राफर जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड खोसिएको छ ।

‘स्त्री २’को गीत ‘आइ नही’ र पुष्पाको गीत ‘श्रीवल्ली’ को कोरियोग्राफी गरेका मास्टरले सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफी गरेका कारण राष्ट्रिय पुरस्कार पाएका थिए ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले उनको पुरस्कार खोसिएको जानकारी दिएको हो । जानीविरुद्ध १५ सेप्टेम्बरमा उनकी असिस्टेन्ट रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेशनमा एफआईआर दर्ता गरेकी थिइन् । उनले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् । उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

युवतीले आफ्नो उजुरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन् । दुई वर्षपछि, जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन् ।

त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुव्र्यवहार गरेको जनाइएको छ । त्यसपछि जानीले लगातार धम्की दिएर शोषण गरेको युवतीको आरोप छ । उनले आफूलाई विवाहका लागि बारम्बार दबाब दिइरहेको पनि उनी बताउँछिन् । एकपटक आफ्नो घरमा लगेर जानी र उनकी श्रीमती (आयशा)ले उनलाई कुटपिट गरेको आरोप पनि उनको छ ।

प्रहरीले १५ सेप्टेम्बरमा पोक्सोमा उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोपछि जानीलाई १९ सेप्टेम्बरमा गोवाबाट पक्राउ गरेर २० सेप्टेम्बरमा अदालतमा पेश गरिएको थियो । त्यसयता उनी हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्