Logo

अधिकार नदिए दशैंपछाडी सरकार छाड्नेभन्दै रेशम चौधरीले दिए अल्टिमेटम

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशमलाल चौधरीले सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाबीहिन बनाइको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जन्मदिनको अवसरमा आज एक भिडियो सन्देश जारीगर्दै चौधरीले यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने घोषणासमेत गरेका छन् ।

उनले राज्यमन्त्री अरुण चौधरीलाई भूमिका विहीन बनाएको असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताको बिचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठुला दलले सुनिरहेको अवस्था छैन । ठुला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ ’ उनले भनेका छन् ‘दसैँ पछाडिबाट हामी सहभागी हुन्नौ ।’

पूर्व सांसदसमेत रहेका चौधरीले आफ्नो चाहना कहिल्यै पनि सत्तामा पुग्ने नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिन्छ कि भनेर मात्र समर्थन गरेरर सरकारमा सामेल भएको जिकिर गरेका छन् । ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुनु होइन । सरकारमा सहभागी हुने जनतालाई म्यान्डेट दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले गर्दा प्रदेश र सङ्घमा गएका हौँ ’ उनले भने, ‘ सङ्घको सरकारमा हामी असफल रह्यौँ । स्वर्गद्वारी गुटी न्यायोचित न्याय दिन सकेनौँ, मुक्त कमैयाहरूलाई लालपुर्जा वितरण गर्न सकेनौँ ।’

नाउपाको संघीय संसद्मा चार,सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेश प्रदेशमा एक सांसद छन् । अहिले सङ्घमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मण किशोर चौधरी छन् । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको बताएका छन् ।

कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन बनाउनु अघिसम्म नाउपा सुदूरपश्चिममा सरकार बनाउने र गिराउने रिमोर्ट बनेको थियो । ७ सांसद रहेको सुदूरमा एक समय नाउपाका ६ जना सांसद मन्त्री बनेका थिए । तर,ओली नेतृत्वमा संघीय सरकार बनेपछि सुदूरमा दुई दलको सहज बहुमत पुग्ना नाउपाको बार्गेनिङ पावर समाप्त भएको थियो ।

उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको त्यही कारण मुख्यमन्त्री गुमेको बताएका हुन्।

‘धेरैले भने– सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्यो, तपाईंहरूका कमजोरीका कारण पाउनुभएन। हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौं। के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेनर? दुई भागमा पार्टीलाई विभाजन गर्नेः के रेशम र रञ्जिताको मात्रै अभिलासा थियोर? होइन! होइन हामी केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टीको अभिष्टिच्छा, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्