Logo

इजरायलबाट विपिन जोशी सम्पर्कविहिन भएको एक वर्ष पूरा, तीन परराष्ट्रमन्त्री फेरिए तर आएन खबर

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी दक्षिणी इजरेलबाट सम्पर्कविहीन भएको आज ठ्याक्कै एक वर्ष पुगेको छ।

गत वर्ष गत वर्ष अक्टोवर ७ मा हमासले इजरेलमा अनपेक्षित रूपमा गरेको आक्रमण गरेको थियो । आक्रमणमा परी कृषिका १० जना नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरैले ज्यान गुमाए। हमासले २५१ जनालाई बन्धक बनाएर लग्यो। ती बन्धकमध्ये नेपालका बिपिन जोशीलाई पनि बन्धक बनाएर लगिएको नेपालस्थित इजरायली दूतावासको भनाइ छ।

तर एक वर्ष बितिसक्दा पनि न हमासले उनको अवस्था सार्वजनिक गरेको छ न त इजरेल वा नेपाल सरकारले नै उनीबारे केही बताउँन सकेको छ। तर हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल–शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि जोशीको अवस्था हालसम्म अज्ञात छ।

विपिन जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए। जिल्लाकै मन्त्री भएका कारण पनि जोशीलाई मुक्त गर्न सरकारले केही पहल गर्छ की भन्ने आशा उनको परिवारलाई थियो । तर पछिल्लो एक वर्षमा तीनजना परराष्ट्र मन्त्री फेरिइसकेका छन् । यतिबेला नेपालको गृहमन्त्रालय विपिनकै क्षेत्रबाट सांसदमा निर्वाचित भएका रमेश लेखकले हाँकिरहेका छन् ।

जोशीको परिवारले हरेक पटक मन्त्री वा सरकार फेरिँदा उनीहरुलाई भेटेर विपिनको रिहाइका लागि पहल गर्न आग्रह गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणालाई भेटेका थिए । तर विपिनको रिहाइका लागि भइरहेका पहलबारे उनका परिवारले राज्यका कुनै निकायबाट खबर पाएका छैनन् ।

उता इजरायलमा युद्धको क्रम झनै चर्किइरहेको छ । हमासको आक्रमणपछि इजरायलको जवाफी कारबाहीमा अहिलेसम्म ४२ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार झन्डै एक लाख जति घाइते छन् भने १० हजार जति भग्नावशेषमा पुरिएको आशंका छ। संयुक्त राष्ट्रसंघको स्याटलाइट विश्लेषणअनुसार इजरायलको आक्रमणबाट झन्डै दुईतिहाइ गाजाक्षेत्र खण्डहर भइसकेको छ।

यस्तै हमासबाहेक इजरायल लेबनान र इरानसँग पनि युद्धमा छ । इजारयमा युद्ध बढिरहँदा विपिनको रिहाईको विषयलाई लिएर जोशी परिवारमा थप चिन्ता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्