Logo

पशुपतिमा बनेका अनधिकृत संरचना हटाउन गएको महानगरको जोडर प्रहरीको नियन्त्रणमा, हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ भन्दै बालेनले लेखे कविता

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत उनले यस्तो अभिव्यक्ति जनाएका हुन् ।

नेपालको संविधान २०७२ मा नेपाल धर्म निरपेक्ष राष्ट्र रहेको उल्लेख गरिएको छ । यसको विरोध गर्दै कतिपयले नेपाललाई हिन्दु राष्ट्र हुनुपर्ने धारणा राख्दै आएका छन । पछिल्लो समय दसैँको विजय दशमीका दिनमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाएका सन्दर्भलाई लिएर केही दक्षिणपन्थी नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्रको प्रसङ्ग उठाइरहेका छन्‌ ।

तर व्यवहारमा भने त्यसको विपरित भएको पाइएको छ । पशुपतिनाथको धर्मशालाको जग्गा विगत २१ वर्षदेखि मारवाडी सेवा समितिले कौडीको मुल्यमा भोगचलन गर्दै आएको छ ।
२०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भएको थियो ।

पशुपतिको. नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले पशुपति विकास कोषलाई वार्षिक ५१ हजार तिरेर उपभोग गर्दै आएको छ । उक्त जग्गामा रहेको १९ वटा सटरमा मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गर्दै आएको छ । ती सटरबाट एउटा सटरबापत मारवाडी सेवा समितिले मासिक शुल्क ३५ हजार भाडा असुल्ने गरेको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गको थियो । सोपछि मारवाडी सेवा समितिले काठमाडौं जिल्ला अदालतमा ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी मुद्दा दायर गरेको थियो । तर अदालतले दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै कोष र समितिबिच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर गरेको थियो ।

यसरि जग्गा उपभोग गर्ने अधिकार पशुपति विकास कोषलाई जिल्ला अदालतले दिएपछि कोष र काठमाडौं महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति भएको छ । तर मारवाडी सेवा समितिले भने धर्मशाला भएको जग्गाको आफू मोहीयानी भएको दाबी गर्दै त्यो ठाउँ नछाड्ने अडान लिँदै आएको छ ।

पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार बुधबार धर्मशालामा रहेको अनधिकृत संरचना हटाउन भन्दै काठमाडौं महानगरपालिकाको टोली गौशाला पुगेको थियो । तर उक्त कार्यमा रोक्दै महानगरको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोजरले अनाधिकृत संरचना हटाउन खोज्दा पहिलैदेखि घेरा हालेर बसेको प्रहरीले दुई वटा डोजर नियन्त्रणमा लिएको महानगरले जनाएको छ । तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला यसअघि व्यानर मात्र राखेको महानगरले हिजो बोर्ड राखेको हो । अदालतको निर्णयअनुसारमा नै अनधिकृत संरचना हटाउन खोज्दा प्रहरीले डोजर नियन्त्रणमा लिएपछि बालेनले असन्तुष्टि जनाउँदै उक्त कविता लेखेका हुन् ।

यस्तो छ बालेनले लेखेको कविता
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्