Logo

यज्ञमणि न्यौपानेले रास्वपाका अनुशासन आयोगबाट दिए राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशान आयोगको उपप्रमुखबाट अधिवक्ता यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन् । उनले दशैं अघि नै राजीनामा बुझाएको र हालै उनको राजीनामा स्वीकृत गरिएको रास्वपाले जनाएको छ ।

न्यौपाने करिब २ वर्षदेखि रास्वपाको अनुशासन आयोगमा आवद्ध थिए । उनले आयोगबाट राजिनामा दिएपनि रास्वपाबाट भने अलग नभएको उनीनिकट रास्वपा स्रोतले बताएको छ । आयोगबाट राजीनामा दिएको ६ महिनापछि मात्र पार्टीको सदस्यता पाउने रास्वपाको विधानमा उल्लेख छ । त्यसैका लागि न्यौपानेले राजिनामा दिएको बुझिएको हो ।

यतिबेला महामन्त्री पदबाट मुकुल ढकाललाई हटाएपछि रास्वपाको महामन्त्री पद रिक्त छ । आगामी बैशाखमा रास्वपाको पहिलो महाधिवेशन हुँदैछ । महाधिवेशनमा महामन्त्री पदको दावेदारका रुपमा आउने पूर्व तयारीसहित अधिवक्ता न्यौपानेले अनुशासन आयोगबाट राजिनामा दिएको हुनसक्ने रास्वपा स्रोतको दाबी छ ।

अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा न्यौपानेले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरणसमेत सोधेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्