Logo

दशैंको समयमा अनलाइन स्क्याममा परेर १६ लाख गुमाएपछि युवकले गरे आत्महत्या

काठमाडौं– दशैंको अन्तिम दिन बुधबार कञ्चनपुरका २३ वर्षीय योगेश ठगुन्ना बिहान आफ्नै कोठामा बसेर केहि लेख्दै थिए । योगेश खाना खान नआएपछि केहि काम वा पढाइमा व्यस्थ होलान् भन्ने परिवारले सोचेको थियो । तर, आधा घण्टासम्म पनि उनी निस्किएनन् । त्यस लगत्तै उनका बुवा कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको थाहा भयो । त्यसपछि उनले झ्यालबाट कोठामा हेरे । जहाँ पङ्खामा पासो लगाएर योगेशले संसार छाडिसकेका थिए ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ घर भएका योगेश घरको कान्छो छोरा हुन् । ल्याब असिस्टेन्टको पढाइ सक्काएर उनी महेन्द्रनगरमा विगत दुई वर्षदेखि काम गर्दै आएका थिए । जहाँ उनले मासिक १३ हजार रुपैयाँ तलब पाउँथे ।

दशैंको समयमा उनको ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट कल आयो । जहाँ उनलाई अनलाइन कामको प्रलोभन देखाइएको थियो । सुरुमा कुनै रकमै लगानी नगर्दा उनको वालेटमा रकम आयो । त्यसपछि उनलाई पाँच हजार रुपैयाँ जम्मा गर्न भनियो । पहिले आफ्नो खातामा रकम आएको देखेका योगेशले उनीहरुले भनेजस्तै पाँच हजार रुपैयाँ उनीहरूले पठाएको खातामा हालिदिए ।

त्यसपछि ह्वाट्सएपमार्फत भेटिएका ति व्यक्तिले ५० हजार जम्मा गरेमा तीन गुणा रकम फिर्ता पाइने प्रलोभन देखाए । योगेशले आफूसँग भएको उक्त रकम खातामा जम्मा गरिदिए । तर तीन गुणा रकम फिर्ता आउनुको सट्टामा थप ५० हजार थप्न भनियो ।

योगेशले आफूसँग रकम नभएपछि प्रेमिकासँग मागेर ह्वाट्सएपमा भेटिएका व्यक्तिले भनेको खातामा जम्मा गरिदिए । यतिबेलासम्म योगेशले एक लाख पाँच हजार रुपैयाँ ती व्यक्तिको खातामा जम्मा गरिसकेका थिए । उनलाई तीन गुणा रकम आउनेमा अझै विश्वास थियो ।

तर रकम फिर्ता आउनुको सट्टामा ९८ हजार रुपैयाँ जम्मा गर्न भनियो । योगेशले त्यो रकमको पनि जोहो गरेर जम्मा गरिदिए । तर रकम फिर्ता आउनुको सट्टामा अझै दुई लाख ५० हजार रुपैयाँ थप्न भनियो । यो सुनेपछि सुरुमा उनी डराए । तर दुई लाख भन्दा बढी पैसा गइसकेकाले आफ्नो पैसा फिर्ता पाउनको लागि भएपनि उनी पैसा दिने मनस्थितीमा पुगे । उनले साथीलाई दुई दिनको लागि भन्दै साँढे दुई लाख मागे र ह्वाटसएपमा भेटिएको व्यक्तिको खातामा जम्मा गरिदिए ।

तर योगेशकै गल्तिका कारण पैसा तीन गुणा नभएको भन्दै थप साढे पाँच लाख थप्न भनियो । अन्तिमपटक उक्त पैसा जम्मा गरेपछि पैसा पाउने भनेपछि उनले साथीसँग र आफुले काम गर्ने फार्मेसी सञ्चालकसँग अनेक बहाना गरेर उक्त पैसा जुटाएर पठाए ।

यतिबेलासम्म उनले कूल १६ लाख तीन हजार रुपैयाँ उपलब्ध गराइसकेका थिए । अब भने रकम आउने आशामा बसेका थिए उनी । तर पैसा पाउनुको सट्टा थप ६ लाख माग्न थालियो । उनीसँग कतैबाट पैसा ल्याउने बाटो बाँकी थिएन । बल्ल उनले आफू नराम्रोसँग ठगिएको थाहा पाए ।

योगेश पढेको बेलाको नै ऋण परिवारमा थियो । उनीमा पैसा जथाभावी खर्च गर्ने कुनैपनि नराम्रो बानी वा कुलन थिएन । बुबाको यसअघि नै धेरै ऋण भएको र झनै ऋण थपिएपछि उनले तनाव सहन नसकेर आत्महत्याको बाटो रोजेको उनले सुनाइट नोटमा उल्लेख गरेका छन् ।

उनले सुसाइड नोटमा आफूजस्तालाई ठगी गर्नेलाई नछाड्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘यी लुटेराहरूलाई जसरी पनि पक्राउ गरिदिनु होला । जसरी यिनीहरूले मलाई फसाए त्यसरी कतिऔं मान्छेलाई फसाएका छन् । यी अपराधीहरूलाई जसरी पनि पक्राउ गरिदिनु होला । यिनीहरूको कारणले गर्दा म यो गर्न गइरहेको छु । मेरो मोबाइल फोनमा जति पैसा पठाएँ, जोलाई पठाएँ सबैको फोटो छ, हेर्नु होला । म मर्न गइरहेको छु । तर, नेपाल सरकार र यहाँको कानूनमा विश्वास छ यि लुटेराहरूलाई नछोड्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्