Logo

होटलमा बन्धक बनाएर १२ वर्षीय बालिकामाथी सामूहिक बलात्कार

काठमाडौं– बाँकेमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२७ असोज र २८ मा होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो । बलात्कार आरोपमा बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका छन् । यस्तै अनुसन्धानका लागि भन्दै प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकीलाई समेत पक्राउ गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बुधबार पक्राउ गरेको हो । बाँकेकै राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीय बालिकामाथि बलात्कार भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना आएको थियो । त्यसपछि इन्सपेक्टर राजकुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको हो ।

पीडित बालिकाको भने स्वास्थ्य परिक्षण गरेर परिवारको जिम्मा लगाइएको छ । उनको शारीरिक अवस्था खतरामुक्त रहेपनि कमजोर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्