Logo

छक्का पञ्जा ५ र १२ गाउँले सार्वजनिक गर्यो एक हप्ताको कमाई, कुन फिल्मको धेरै?

काठमाडौं– दसैँको अवसरमा फुलपातीको दिन अर्थात् असोज २४ देखि प्रदर्शनमा आएको तीन फिल्ममध्ये दुुई फिल्मले आफ्नो एक हप्ताको कमाई सार्वजनिक गरेका छन् ।

रिलिज भएयता राम्रो व्यापार गरिरहेको फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले एक हप्तामा गरेको कमाईबारे जानकारी दिएका हुन् । दुबै फिल्मका वितरकले बुधबारसम्मको ग्रस कलेक्सनबारे औपचारिक रुपमा जानकारी दिएका हुन्।

दिपक दिपाले निर्माण गरेको ‘छक्का पञ्जा ५’ ले रिलिज भएको एक सातामा ११ करोड ५० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। यो फिल्मका वितरक मनोज राठीले रिलिज भएको एक सातामा नै फिल्मले राम्रो व्यापार गरेको जानकारी दिएका हुन् ।

त्यस्तै, विराज भट्टले निर्माण तथा निर्देशन गरेको फिल्म ‘१२ गाउँ’ले सात दिनमा १० करोड ५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यका साथै बाहिरका हलहरुमा पनि दर्शकहरुको उपस्थिति उत्तिकै राम्रो हुँदै सो रकम कमाई भएको फिल्मका वितरक गोविन्द शाहीले बताएका छन् । ‘१२ गाउँ’ बाट विराजका छोरा समीर भट्टले डेब्यु गरेका हुन
। फिल्ममा उनको अभिनय निकै रुचाइएको छ ।

सोही दिनबाटै प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ले भने ग्रस कलेक्सन सार्वजनिक गरेको छैन। यो फिल्मलाई पनि प्राप्त शोमा अकुपेन्सी राम्रो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्