Logo

सुपर ओभरमा सोमपालको उत्कृष्ट प्रदर्शनीमा नेपालको जीत

काठमाडौं— अमेरिकामा जारी टि–२० सिरिजमा घरेलु राष्ट्रलाई नेपालले सुपर ओभरमा जितेको छ । यो जीतसँगै नेपाल अमेरिकासँगको तीन खेलको सिरिजमा २–० ले अगाडि रहन सफल भएको छ । अब नेपाल र अमेरिकाबिचको टि–२० सिरिजको अन्तिम खेल शनिबार हुनेछ ।

डलासमा भएको खेलमा सुपरओभरमा सोमपाल कामीको उत्कृष्ट खेलका कारण नेपालले जीत आफ्नो नाममा गरेको हो । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । सयन जहाँगीर र एरोन जोन्सलाई सोमपालले आउट गरेका हुन् । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

यसअघि टस हारेर फिल्डिङ गरेको अमेरिकाले जितका लागि १ सय ७१ रनको लक्ष्य पाएको थियो । अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्दा खेल बराबरीमा टुङ्गिएको थियो । अमेरिकाका लागि आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । ओपनर साइतेजा मुखमलले ४७ रन बनाए । नेपालका लागि करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेल ५४ बलमा ९२ रन बनाउँदै अविजित रहे ।

ओपनर अनिल साहले २५ रन र आसिफ सेखले एक रनको योगदान गरे । गुल्सन झाले १२ बलमा १९ रन बनाउँदा कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाए करण केसी ६ रनका साथ अविजित रहे । बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई÷दुई विकेट लिए ।

शुक्रबार भएको अमेरिका र नेपालको खेलमा नेपाल १७ रनले विजयी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्