रविलाई पक्राउ पूर्जी जारी गर्ने दिन बिदा बसेका कास्कीका ६ न्यायाधीशको छानबिन हुने


काठमाडौं– दशैंको बिदा सकिँदासम्म घर बिदा लेखेर कास्की जिल्ला अदालतमा एकैपटक ६ जना न्यायाधीश गयल भएको घटनामा न्याय परिषद्ले छानबिन गर्ने भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतमा रहेका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका थिए । बुधबारबाटै देशभरका अदालत खुलेपनि गण्डकी प्रदेशले बिहीबार थप एक दिन बिदा दिएको थियो । बिहीबार दिइएको बिदाले समेत नपुगेर ६ जना न्यायाधीशले शुक्रबार एकैपटक बिदा लिएका थिए ।

सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने विरुद्ध शुक्रबार प्रहरीले पक्राउ पूर्जी जारी गर्ने तयारी गरेको सुईको पाएपछि विवादमा तानिने डरले उनीहरुले एकैपटक बिदा लिएको चर्चा चलेको छ । ६ जना न्यायाधीश बिदामा बसेपछि नेपालगञ्ज रहेका अर्का न्यायाधीश कृष्णजग शाहलाई तुरुन्तै कास्की बोलाएर रविविरुद्ध पक्राउ पूर्जी जारी गराईएको थियो ।

शाह दिउँसो २ बजे अदालतमा आएर रविसहित सो प्रकरणमा तानिएका १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिदिएका थिए । रवि शुक्रबार साँझ नै काठमाडौंबाट पक्राउ परिसकेका छन् । उनलाई आज जिल्ला अदालतमा उपस्थित गराईंँदैछ ।

कास्की जिल्ला अदालतमा हाल ७ जना न्यायाधीशको दरबन्दी रहेको छ । एक नम्बर न्यायाधीश नवराज दाहालका अलावा न्यायाधीशहरू हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नीतिज राई कास्कीमा कार्यरत छन्। तर,शाहबाहेर सबै ६ जना शुक्रबार गयल भएका थिए ।